images
images

राजनीतिमा युवाको प्रवेश : विकल्प कि अनिवार्य ?

विकास र स्थिरताका लागि राजनीतिमा युवा पुस्ताको आगमन अनिवार्य, पुराना शक्तिले युवामा नेतृत्व हस्तान्तरण गर्न आवश्यक, नव युवाले परिपक्वता प्रदर्शन गर्न जरुरी छ । नेपाली समाजले आज जवाफदेही, पारदर्शी र समावेशीसहितको नयाँ राजनीतिक प्रणालीको अपेक्षा गरेको छ । जेनेरेशन जेडको आन्दोलन असन्तोषको विस्फोट मात्र नभइ चेतनाको क्रान्ति पनि हो ।

यो आवाजलाई दबाएर होइन, सुनेर, स्वीकार गरेर र समाहित गरेर मात्र पुराना दलहरूले आफ्नो औचित्य पुष्टि गर्न सक्छन् । वर्तमान राजनीतिक परिदृश्यमा युवाको आगमन विकल्प नभइ अनिवार्य जस्तै देखिएको छ । जेनेरेशन जेड अर्थात् जेन जी आन्दोलनले नेपालको वर्तमान राजनीतिलाई एउटा निर्णायक बिन्दुमा पुर्याएको छ । २०६२/०६३ सालको जनआन्दोलनपछि संविधानसभाबाट गणतन्त्र स्थापना भए पनि लोकतान्त्रिक अभ्यासले स्थायित्व र जनविश्वास स्थापित गर्न सकेन ।

पुराना राजनीतिक दलहरूमा जरा गाडेको असफल नेतृत्व, गुटबन्दी, दलीय स्वार्थ र जवाफहिनताको पृष्ठभूमिमा उभिएको पुराना पुस्तालाई नयाँ पुस्ताले राजनीतिका पुरातन संरचनालाई चुनौती दिन थालेको छ ।फेरि पनि हिजो सत्तामा बसेर तर मारेको स्वादमा पल्केका पुराना राजनीतिक दलका पुरानै अनुहार राजनीतिमा सलबलाउन थाले भने दनदनी बलेको आगोमा घ्यू हालेजस्तो नहोला भन्न सकिन्न ।

जेनेरेशन जेडका युवाले आजको डिजिटल युगमा हुर्किँदै राजनीतिक चेतना, मानवअधिकार, लैङ्गिक समानता, पारदर्शिता र उत्तरदायित्वजस्ता मूल्यहरू आत्मसात गरिसकेको छ । उनीहरूले राजनीति केवल फोहरी खेल नभइ, बरु नीति, सिद्धान्त र परिणाममुखी शासन हो भन्ने राम्रोसँग बुझेका छन् । सामाजिक सञ्जालबाट सुसूचित र संगठित यो पुस्ताले गरेको प्रदर्शनहरूमा देखाएको सक्रियता केवल असन्तोषको विस्फोट मात्र थिएन, वैकल्पिक नेतृत्वको खोजी र नयाँ राजनीतिक संस्कृतिको आह्वान समेत हो ।

भ्रष्टाचारविरुद्धको आक्रोश, न्यूनतम सेवा प्रवाहमा असफलता र जनप्रतिनिधिहरूको अनुत्तरदायी व्यवहार नै जेन जी आन्दोलनकोे केन्द्रबिन्दु हो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका पुराना दलका नेतृत्व नव युवा पुस्ताको नजरमा विश्वासघाती सावित भएका छन् । २०६३ सालपछि जतिसुकै क्रान्तिका भाषण गरे पनि आमजनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन आएको देखिँदैन । पुराना नेता–कार्यकर्ताहरुको संरचनागत गुटबन्दी, नेतृत्व हस्तान्तरण गर्ने त परको कुरा त्यस्तो विषय सुन्न पनि नचाहने पुराना नेतृत्ववर्ग तथा परिवर्तनको कुरा भाषणमा मात्रै सीमित गरेर सिन्को नभाच्नेहरुको हातमा सत्ताको बागडोर रहनुले पनि नव युवामा आक्रोसको विस्फोट भएको देखिन्छ ।

चुनावमा मत हालेर नेता जिताउँदैमा परिवर्तन र विकास हुँदैन भन्ने कुरा नव युवाले प्रष्टसँग बुझेका छन् । आफ्ना मागहरु कार्यान्वयनका लागि युवाको आक्रोस सडकमार्फत् पोखिएको छ, यसको संस्थागत गर्नु सत्ता हातमा लिनेहरुको दायित्व हो । पछिल्ला दिनहरुमा भएका प्रदर्शन र आन्दोलनहरूमा प्रयोग भएको भाषाशैली, नाराहरू र रणनीतिहरू परम्परागत आन्दोलनभन्दा फरक देखिएका छन्, जसमा भावनात्मकभन्दा नीतिगत मागहरू बढी भेटिन्छन् ।

जवाफदेहिता चाहियो, अब पुरानो राजनीति होइन, हामी भोट बैंक होइनौँ जस्ता नारा र सन्देशहरूले पुराना दल तथा नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकिएको छ । वास्तवमा यस्ता सन्देशले पुराना नेता र नेतृत्वलाई सच्चिन मौका दिएको छ र सच्चिन नसके विश्राम गर भन्ने आदेश समेत दिएको छ ।

जेनेरेशसन जेडको आन्दोलनका क्रममा पुराना नेताहरूले आन्दोलनप्रति देखाएको प्रतिक्रियाले युवा वर्गमा थप निराशा बढाएको देखिन्छ । केहीले आन्दोलनकारीलाई भड्काउने तत्व, वामपन्थी चरमपन्थी, बाह्य शक्तिद्वारा सञ्चालितलगायतका आरोप लगाए तर उनीहरुले आफूमा भएका कमीकमजोरीको आत्मालोचना गरेनन्, यो नै रक्षात्मक राजनीति गरिरहेका पुरानो पुस्ताको सबैभन्दा ठूलो कमजोरी हो, जसले जनआवाज सुन्ने हैसियत गुमाएको पुष्टि हुन्छ ।

देशको राजनीतिक परिवर्तनमा पुराना पुस्ताको अहम् भूमिका छ । लोकतन्त्रको स्थापनामा आफ्नो सर्वस्व गुमाएर राजनीतिक आन्दोलनमा लागेका र सफल भएका नेताहरु भ्रष्ट हुनु र निरंकुश व्यवहार देखाउनु उनीहरुको ठुलो भूल हो । पुराना नेताहरुले आफूलाई समय अनुकूल रूपान्तरण गर्न सकेनन् भने राजनीतिको वागडोर युवाको हातमा जाने निश्चित छ । युवा वर्गमा पनि जोश र आक्रोस मात्र नभइ परिपक्व व्यवहार प्रदर्शन हुनु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्