images
images

फरार गाउँपालिका अध्यक्ष काठमाडौंबाट पक्राउ

पूर्वाधार वाच, काठमाडौं ।

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले पक्राउ परेका छन्। मानव बेचबिखन गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंबाट बुधबार गाउँपालिका अध्यक्ष घलेलाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।

घलेमाथि एक जना महिलालाई कुवेत पठाइदिन्छु भन्दै श्रीलंका पुर्‍याएको आरोप छ। घटना २०७३ सालको हो।

प्रहरीका अनुसार ती महिलालाई घलेले मासिक ८० कुवेती दिनार तलब दिइने भन्दै कुवेत पठाउने प्रलोभनमा पारेको अनुसन्धानबाट देखिएको छ। कुवेत पठाउने भने पनि उनलाई भारतको नयाँ दिल्ली हुँदै भिजिट भिसामा कोलम्बो पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याएर कोठामा बन्धक राखिएको थियो।

श्रीलंकाबाट उद्धार भई फर्किएकी ती महिलाले गाउँपालिका अध्यक्ष घलेविरूद्ध जाहेरी दिएकी थिइन्। उनीमाथि त्यतिबेलै पक्राउ पुर्जी जारी भएको थियो। फरार रहिआएका घले बुधबार काठमाडौंको बबरमहलबाट पक्राउ परेका हुन्।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्